२०८३, आश्विन १ गते

Sep 17 2026

जलवायु र प्रकृतिमैत्री विकासमा जोड दिँदै आज विश्व वातावरण दिवस मनाइँदै

जलवायु र प्रकृतिमैत्री विकासमा जोड दिँदै आज विश्व वातावरण दिवस मनाइँदै

शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो विकासप्रति जनचेतना फैलाउने उद्देश्यका साथ विश्व वातावरण दिवस २०२६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने तयारी गरिएको छ। दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

    मुख्य समारोहमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको विभागले जनाएको छ। कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, विकास साझेदार संस्था, वातावरणविद् तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता रहने अपेक्षा गरिएको छ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वातावरण संरक्षण र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे नागरिकलाई सचेत गराउने तथा प्रकृतिसँग मैत्रीपूर्ण विकासको अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले दिवसलाई विशेष महत्वका साथ मनाउन लागिएको बताए।

    दिवसको अवसरमा देशका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइ अभियान, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा वातावरण संरक्षणसँग सम्बन्धित विविध गतिविधि सञ्चालन गरिने जनाइएको छ।

    विश्व वातावरण दिवसले वातावरणीय चुनौतीप्रति साझा जिम्मेवारीको भावना विकास गर्दै हरित, सुरक्षित र दिगो भविष्य निर्माणका लागि सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij