२०८३, आश्विन १ गते

Sep 17 2026

श्रम बजारमा लचक नीति र त्रिपक्षीय सहकार्य अपरिहार्य : प्रवलजंग पाण्डे

श्रम बजारमा लचक नीति र त्रिपक्षीय सहकार्य अपरिहार्य : प्रवलजंग पाण्डे

बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं । बदलिँदो श्रम बजारका चुनौती सम्बोधन गर्न नीतिगत लचकता, निजी क्षेत्रको उत्पादकत्व वृद्धि र सरकार, रोजगारदाता तथा श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले औंल्याएका छन्।

    स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ११४औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको रोजगारदाता परिषद्को तर्फबाट सम्बोधन गर्दै उनले नेपाल आर्थिक संक्रमणको महत्वपूर्ण चरणमा रहेको बताए।

    पाण्डेका अनुसार सुशासन, लगानी प्रवर्द्धन र पूर्वाधार विकासका प्रयास भइरहे पनि सुस्त आर्थिक वृद्धि, औद्योगिक विस्तारको सीमितता र बढ्दो लागतका कारण निजी क्षेत्र दबाबमा छ। साथै, रोजगारीको खोजीमा युवा विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न शिक्षा, सीप र लगानीमैत्री नीतिमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

    उनले डिजिटल अर्थतन्त्रसँगै अनलाइन व्यवसाय, राइड–शेयरिङ तथा डेलिभरी सेवा क्षेत्रमा युवाको आकर्षण बढे पनि यसले श्रम मापदण्ड र सामाजिक सुरक्षामा नयाँ चुनौती थपेको बताए।

    विकासशील मुलुकका सन्दर्भमा अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू गर्दा स्थानीय अवस्था र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखी लचक नीति अपनाउनुपर्नेमा पनि उनले जोड दिए।

    पाण्डेले जलवायु परिवर्तन, विप्रेषणमा निर्भर अर्थतन्त्र, तथा क्षेत्रीय भू–राजनीतिक तनावले नेपालका उद्योग र रोजगारीमा असर पारिरहेको उल्लेख गर्दै रोजगारी संरक्षण र सामाजिक संवादलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij