काठमाडौं, असार १२ – बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ इमाडोलमा बसोबास गर्दै आएका ५२ वर्षीय प्रशान्तराम नकर्मी रहेका छन्।
जिल्ला अदालत काठमाडौंले २०८२ मंसिर १० गते बैंकिङ कसुर मुद्दामा नकर्मीलाई ७ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसला पश्चात उनी फरार रहेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले खोजतलासका क्रममा उनलाई काठमाडौं महानगरपालिका–१२ टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका नकर्मीलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।