काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो।
अस्पताल स्रोतका अनुसार घाइतेमध्ये अधिकांशको टाउको, अनुहार, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही घाइतेको अवस्था गम्भीर रहे पनि उपचार जारी रहेको जनाइएको छ।
उपचाररत घाइतेमा रोशी गाउँपालिकाका २२ वर्षीया अनिशा तामाङ, २० वर्षीया विष्णु डोल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मनबहादुर तामाङ, धनबहादुर तामाङ तथा ६२ वर्षीया विष्णुमाया लामा रहेका छन्।
यस्तै, बर्दियाका २५ वर्षीय सुरेश बडी, बनेपाका ३४ वर्षीय बस चालक गोवय सिंह तामाङ तथा तेमालका ४३ वर्षीय मनुराज तामाङ पनि उपचाररत छन्। साथै करिब ५–६ वर्षका एक बालक, एक वर्षकी बालिका र करिब ६०–६५ वर्ष उमेरका एक पुरुषको पहिचान खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।
दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक भइसकेको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
स्थानीयवासी, प्रहरी र उद्धारकर्मीको सहयोगमा घाइतेलाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएको थियो। घटनाबारे थप विवरण आउने क्रम जारी छ।