काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
क्यानडाको भ्यानकुभरमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियाले अवसरको सदुपयोग गर्दै महत्त्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो।
खेलको २७औँ मिनेटमा युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले आकर्षक गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। तीव्र गतिमा गरिएको प्रतिआक्रमणलाई उनले उत्कृष्ट फिनिसिङमार्फत गोलमा परिणत गरेपछि पहिलो हाफ अस्ट्रेलियाको पक्षमा १–० मा समाप्त भएको थियो।
दोस्रो हाफमा टर्कीले बराबरी गोलका लागि दबाब सिर्जना गर्ने प्रयास गरे पनि अस्ट्रेलियाली रक्षापंक्तिलाई भेद्न सकेन। बरु ७५औँ मिनेटमा कोनर मेटकाल्फले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अस्ट्रेलियाले अग्रता दोब्बर बनायो।
मेटकाल्फको सटिक प्रहार टर्कीका गोलरक्षकका लागि चुनौतीपूर्ण सावित भयो र त्यसपछि खेलमा थप गोल नहुँदा अस्ट्रेलिया २–० को जित निकाल्न सफल रह्यो।
यस नतिजासँगै अस्ट्रेलियाले समूह ‘डी’ मा तीन अंक जोडेको छ। समूहको अर्को खेलमा अमेरिकाले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित दर्ता गरेपछि समान तीन अंक भए पनि गोलअन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा रहेको छ।
पहिलो चरणका खेल सकिँदा अमेरिका र अस्ट्रेलिया तीन–तीन अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने टर्की र पाराग्वेले अंकको खाता खोल्न सकेका छैनन्।