२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रिय मुक्ति क्रान्तिद्वारा सत्ता, घोटाला र भूराजनीतिक प्रभावविरुद्ध संरचनागत रूपान्तरणको आह्वान

राष्ट्रिय मुक्ति क्रान्तिद्वारा सत्ता, घोटाला र भूराजनीतिक प्रभावविरुद्ध संरचनागत रूपान्तरणको आह्वान

रोज नेपाल
सोमवार, आषाढ १ २०८३
रोज नेपाल
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । "राष्ट्रिय मुक्ति क्रान्ति" नामक समूहले नेपाल गम्भीर अस्तित्वगत संकटको सामना गरिरहेको दाबी गर्दै सत्ता-केन्द्रित राजनीति, भ्रष्टाचार, घोटाला तथा भूराजनीतिक प्रभावविरुद्ध संरचनागत रूपान्तरणको आवश्यकता औंल्याएको छ।
    आइतबार जारी गरिएको वक्तव्यमा समूहले नेपालको वर्तमान संकटलाई केवल राजनीतिक अस्थिरता वा बाह्य कारणको परिणाम नभई सत्ता-स्वार्थ, शासकीय भ्रष्टाचार र संरचनागत समस्याबाट उत्पन्न संकटको रूपमा व्याख्या गरेको छ। वक्तव्यमा नेपालको सार्वभौमसत्ता, स्वायत्त निर्णय क्षमता तथा दीर्घकालीन भविष्य जोखिममा परेको उल्लेख गरिएको छ।


    समूहले विश्व राजनीति बहुध्रुवीय व्यवस्थातर्फ अग्रसर भइरहेको उल्लेख गर्दै नेपालजस्ता साना राष्ट्रहरू भारत, चीन र पश्चिमी शक्तिहरूबीचको प्रतिस्पर्धाको प्रभावमा परेको जनाएको छ। वर्तमान विदेश नीतिले दीर्घकालीन स्वायत्तता सुनिश्चित गर्न नसक्ने दाबी पनि वक्तव्यमा गरिएको छ।


    वक्तव्यमा नेपालका प्रमुख राजनीतिक दलहरूमाथि वैचारिक संकट, रणनीतिक अस्पष्टता तथा सत्ता-केन्द्रित अवसरवादको आरोप लगाइएको छ। नेपाली कांग्रेस, कम्युनिस्ट दलहरू, माओवादी केन्द्रलगायतका दलहरूलाई आलोचना गर्दै नयाँ राजनीतिक नेतृत्वमाथि पनि विचारविहीन व्यवहारवाद र सामाजिक सञ्जाल आधारित राजनीतिमा केन्द्रित रहेको आरोप लगाइएको छ।


    समूहले वर्तमान सत्ता संरचना जनमतभन्दा बढी राजनीतिक गठबन्धन, स्वार्थ र घोटालाको परिणाम भएको दाबी गर्दै यसले राष्ट्रिय हित र स्वायत्त निर्णय क्षमतालाई कमजोर बनाएको उल्लेख गरेको छ। साथै, नेपालको आन्तरिक निर्णय प्रक्रियामा बाह्य प्रभाव बढ्दै गएको दाबी पनि वक्तव्यमा गरिएको छ।
    वक्तव्यमा पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टिलाई "जेन-जि विद्रोह" को रूपमा व्याख्या गर्दै त्यसलाई लोकतन्त्र विरोधी नभई संरचनागत परिवर्तनको मागका रूपमा प्रस्तुत गरिएको छ। युवाहरूले परम्परागत निर्वाचनमुखी राजनीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेको दाबी गरिएको छ।


    "राष्ट्रिय मुक्ति क्रान्ति" ले आफ्नो आन्दोलनलाई चार मुख्य मोर्चामा केन्द्रित गर्ने जनाएको छ। तीमध्ये बाह्य हस्तक्षेपविरुद्ध, आन्तरिक सत्ता स्वार्थविरुद्ध, परनिर्भर अर्थतन्त्रविरुद्ध तथा सांस्कृतिक र वैचारिक निर्भरताविरुद्ध संघर्ष प्रमुख रहेका छन्।
    समूहले नेपाललाई निष्क्रिय "बफर राज्य" भन्दा रणनीतिक रूपमा स्वायत्त र क्षेत्रीय सहकार्यमा सक्रिय राष्ट्रका रूपमा स्थापित गर्न दीर्घकालीन राष्ट्रिय दृष्टि र आन्तरिक एकताको आवश्यकता रहेको जनाएको छ। राष्ट्रप्रेमी नागरिक, युवा पुस्ता तथा राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ।


    उक्त वक्तव्यमा सिएन थारु (सहसंयोजक, राष्ट्रिय मुक्ति क्रान्ति), आरके तामाङ (प्रवक्ता, राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान), सनम लिम्बु (संयोजक, योड इन्डिजिनिष्ट लिग), रबिन्द्र कुमार श्रेष्ठ (संयोजक, स्वनिगः विशेष व्यूरो), योगेन्द्र घिसिङ (संयोजक, सशस्त्र द्वन्द्व पीडित संघर्ष समिति), तथा मधुरेन्द्र जैसवाल (अध्यक्ष, नेपाल भारत विश्व विकास मंच) ले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij