काभ्रे। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी विद्यार्थीहरूको ग्रेडसिट तथा मूल प्रमाणपत्र वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले सोमबार सूचना जारी गर्दै एसईई २०८२ का ग्रेडसिट र प्रमाणपत्र सम्बन्धित विद्यालयहरूले प्राप्त गर्न सक्ने जनाएको हो। सूचनाअनुसार परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरबाट प्राप्त भएका कागजातहरू विद्यालयले तोकिएको प्रक्रिया पूरा गरी बुझ्न सक्नेछन्।
विद्यालयहरूले आफ्नो विद्यालयका ग्रेड प्राप्त गरेका विद्यार्थीहरूको संख्या यकिन गरी प्रतिविद्यार्थी २५० रुपैयाँका दरले शुल्क राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। शुल्क बुझाएको सक्कल भौचर लिएर विद्यालयका प्रधानाध्यापक वा आधिकारिक प्रतिनिधिले ग्रेडसिट तथा प्रमाणपत्र बुझ्न सक्ने जनाइएको छ।
इकाइले यस वर्षको नियमित समूहअन्तर्गत परीक्षा दिएर ग्रेड प्राप्त गरेका विद्यार्थीहरूको हकमा मात्र शुल्क जम्मा गर्नुपर्ने स्पष्ट पारेको छ।
सूचनामा बैंक खातासम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ। सम्बन्धित विद्यालयहरूलाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी समयमै प्रमाणपत्र तथा ग्रेडसिट प्राप्त गर्न आग्रह गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका अनुसार यस व्यवस्थाले विद्यालयमार्फत विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।