काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासा र सुझावबारे मन्त्रीहरूले आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा जवाफ दिने कार्यसूची रहेको छ।
बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयका लागि प्रस्तुत गरिनेछ।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ। यससँगै चालु आर्थिक वर्षको बजेटमाथिको संसदीय छलफल अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ।
