२०८३, आश्विन १ गते

Sep 17 2026

झापामा दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही, एक महिनामै १७४ घटना

झापामा दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही, एक महिनामै १७४ घटना

रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
  • झापा । जिल्लामा पछिल्लो एक महिनामा भएका सडक दुर्घटनाहरूको विश्लेषण गर्दा अधिकांश घटना चालकको लापरबाही र मानवीय त्रुटिका कारण भएको पाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको अवस्थाभन्दा चालकको असावधानी र गलत व्यवहार दुर्घटनाको मुख्य कारण देखिएको हो ।

    प्रहरीको जेठ महिनाको मासिक प्रतिवेदनअनुसार सो अवधिमा जिल्लाभर कुल १७४ वटा सडक दुर्घटना दर्ता भएका छन् । तीमध्ये १५४ दुर्घटना सिधै चालकको लापरबाहीका कारण भएको देखिएको छ ।

    त्यस्तै, सडकको कमजोर अवस्था कारण पाँच वटा, सवारीसाधनको प्राविधिक गडबडीका कारण तीन वटा, यात्रुको गल्तीका कारण आठ वटा तथा छाडा चौपायाका कारण एक वटा दुर्घटना भएको विवरणमा उल्लेख छ । बाँकी तीन वटा दुर्घटना अन्य कारणले भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी सोही अवधिमा आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएका छन् ।

    सडक सुरक्षालाई ध्यानमा राख्दै झापा प्रहरीले ट्राफिक प्रहरीसँगको समन्वयमा सञ्चालन गरेको विशेष जाँच अभियानअन्तर्गत नियम उल्लंघन गर्ने दुई हजार ७३३ सवारीसाधन कारबाहीमा परेका छन् । सो कारबाहीबाट रु २८ लाख ३३ हजार ९१ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना र कडाइका साथ निगरानीलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij