काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।
आयोगले मंगलबार बूढानीलकण्ठस्थित निवासमा म्याद तामेलीको सूचना टाँस गर्दै बाटोको म्यादबाहेक तीन दिनभित्र काठमाडौंको टंगालस्थित कार्यालयमा उपस्थित भएर बयान दिन आग्रह गरेको जनाएको छ।
आयोगद्वारा जारी सूचनामा राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा आवश्यक बयान लिनुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन भनिएको छ। उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ।
देउवा दम्पती गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। उनीहरू हाल हङकङमा रहेको जानकारी सार्वजनिक भएको छ।
यसै प्रकरणको अनुसन्धानका क्रममा अख्तियारले हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित केही कर्मचारीलाई नियन्त्रणमा लिइसकेको छ। ठेक्का प्रक्रियासँग सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग पनि आयोगले बयान लिने तयारी गरिरहेको बताइएको छ।
पासपोर्ट छपाइसम्बन्धी उक्त मुद्दामा अनुसन्धानको दायरा विस्तार भइरहेका बेला आयोगले सम्बन्धित व्यक्तिहरूसँग सोधपुछलाई तीव्रता दिएको छ।