काठमाडौं। नेपाली पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएपछि यसको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोग सुनिश्चित गर्न राष्ट्रिय स्तरको मार्गदर्शन तयार गर्ने पहल सुरु भएको छ।
यसै उद्देश्यसहित प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमको संयुक्त आयोजनामा राजधानीमा सम्पादक तथा सञ्चार क्षेत्रका विज्ञहरूबीच विशेष कार्यशाला सम्पन्न भएको हो। कार्यक्रममा पत्रकार तथा मिडिया विश्लेषक तारानाथ दाहाल र पत्रकार जीवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग, त्यसका अवसर, चुनौती र नैतिक पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्रमार्फत विश्वका विभिन्न सञ्चार माध्यमहरूले एआईलाई समाचार उत्पादन, सामग्री विश्लेषण तथा सूचना व्यवस्थापनमा कसरी उपयोग गरिरहेका छन् भन्ने अनुभव प्रस्तुत गरिएको थियो। साथै नेपाली सञ्चार क्षेत्रले सामना गर्न सक्ने जोखिम र सावधानीका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले एआईसम्बन्धी ज्ञान अब सञ्चारकर्मी मात्र नभई आम नागरिकका लागि पनि आवश्यक बन्दै गएको बताए। उनले प्रविधिको विकास र सरकारी नीतिबीच सन्तुलन कायम राख्नुपर्ने उल्लेख गर्दै सञ्चार संस्थाहरूले आफ्नै आन्तरिक निर्देशिका तयार गर्नुपर्ने धारणा राखे।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले एआई पत्रकारिताको सहयोगी उपकरण भए पनि यसले पत्रकारको विवेक, संवेदनशीलता र मानवीय निर्णय क्षमतालाई प्रतिस्थापन गर्न नसक्ने स्पष्ट पारे। पत्रकारिताको विश्वसनीयता र तथ्यपरकता जोगाउन एआई प्रयोगका लागि स्पष्ट नैतिक मापदण्ड आवश्यक रहेको उनको भनाइ थियो।
कार्यशालामा सहभागी सम्पादक तथा सञ्चारकर्मीहरूले नेपाली न्युजरुमहरूमा अनुवाद, भाषा सम्पादन, शीर्षक निर्माण र सामाजिक सञ्जालका सामग्री तयार गर्न एआईको प्रयोग बढ्दै गएको अनुभव सुनाएका थिए। यद्यपि एआईले तथ्यगत त्रुटि गर्न सक्ने, भाषाको भावार्थ सही ढंगले नसम्झिन सक्ने तथा संवेदनशील विषयमा चुक्न सक्ने भएकाले अन्तिम सम्पादन र प्रमाणीकरण मानवद्वारा नै हुनुपर्नेमा अधिकांश सहभागी एकमत देखिए।
छलफलका क्रममा ‘डीपफेक’, गलत सूचना प्रसार, प्रतिलिपि अधिकारको संरक्षण, पारदर्शिता तथा पाठकको विश्वास जोगाउने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। सहभागीहरूले एआईको प्रयोगलाई व्यवस्थित र उत्तरदायी बनाउन बलियो नैतिक ढाँचा निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले नेपाली पत्रकारिताका लागि एआई प्रयोगसम्बन्धी राष्ट्रिय ‘नैतिक तथा जिम्मेवार प्रयोग फ्रेमवर्क’ तयार गर्न आवश्यक सुझावहरू संकलन गरी मस्यौदा निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
