२०८३, आश्विन १ गते

Sep 17 2026

काभ्रेमा लागूऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु, चालकदेखि विद्यार्थीसम्म लक्षित कार्यक्रम

काभ्रेमा लागूऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु, चालकदेखि विद्यार्थीसम्म लक्षित कार्यक्रम

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काभ्रे। लागूऔषध दुव्र्यसन तथा अवैध कारोबारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ। हरेक वर्ष जुन २६ मा मनाइने अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसलाई यस वर्ष जिल्लामा विविध कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाउने तयारी गरिएको हो।

    अभियानको पहिलो दिन बनेपाको चारदोबाटो क्षेत्रमा सार्वजनिक यातायातका चालक तथा सहचालकहरूको लागूऔषध सेवन परीक्षण गर्दै कार्यक्रम सुरु गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकुमार गौतम, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीलगायतले लागूऔषधको बढ्दो असर र त्यसको नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिएका थिए।

    यसअघि जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाहरूको बैठकले असार ६ गतेदेखि १२ गतेसम्म जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अभियानलाई जिल्लाका विभिन्न स्थानीय तहसम्म विस्तार गरिने भएको छ।

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार लागूऔषध नियन्त्रणलाई स्थानीय तहका नीति, योजना तथा बजेटसँग जोड्न पहल गरिनेछ। साथै, जिल्लाका १३ वटै स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चालक तथा सहचालकको स्वास्थ्य तथा लागूऔषध सेवन परीक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार जिल्लाका अन्य स्थानमा समेत यस्ता परीक्षण तथा निगरानी कार्यक्रम सञ्चालन गरिनेछ।

    अभियान विद्यालयस्तरसम्म पुग्ने भएको छ। पनौतीको भालेश्वर माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी माध्यमिक विद्यालय र बनेपाको आजाद माध्यमिक विद्यालयमा विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। निजी विद्यालयहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।

    जिल्लामा सञ्चालित पुनर्स्थापना केन्द्रहरूमा समेत विशेष कार्यक्रम गरिने भएको छ। हाल पनौतीमा दुई, धुलिखेलमा एक र पाँचखालमा एक गरी चारवटा पुनर्स्थापना केन्द्र सञ्चालनमा छन्। यसैगरी होटल व्यवसायी र औषधि व्यवसायीसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।

    सप्ताहव्यापी अभियानको समापन असार १२ गते धुलिखेलमा वृहत् सचेतना र्‍यालीसहित गरिनेछ। र्‍यालीमा सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, शैक्षिक संस्था र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    संयुक्त राष्ट्रसंघको सन् १९८७ को निर्णयअनुसार प्रत्येक वर्ष जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाइँदै आएको छ। दिवसको मूल उद्देश्य लागूऔषधको दुरुपयोग र अवैध कारोबारविरुद्ध विश्वव्यापी चेतना अभिवृद्धि गर्नु हो।

    विशेषज्ञहरूका अनुसार लागूऔषधको प्रयोग र कारोबारमा युवावर्ग बढी प्रभावित हुने गरेको पाइन्छ। गलत संगत, छिटो आर्थिक लाभको लोभ तथा कुलतका कारण धेरै युवा यसतर्फ आकर्षित हुने गरेका छन्। खुला सीमा, सहज आवागमन र बढ्दो शहरीकरणका कारण नेपालमा पनि लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला समेत यस दृष्टिले संवेदनशील क्षेत्रका रूपमा हेरिने गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij