चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय समिति बैठक आयोजना गर्ने भएको छ। बैठक चितवनको भरतपुरस्थित होटल एमिटीमा दिउँसो १ बजेबाट सुरु हुने तय गरिएको छ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकमा आगामी राष्ट्रिय महाधिवेशनको तयारी, प्रतिनिधि व्यवस्थापन, विभिन्न प्रतिवेदनमाथिको समीक्षा तथा विधान संशोधनका प्रस्तावहरूबारे विस्तृत छलफल गरिनेछ।
रास्वपाले भोलिदेखि चितवनमा राष्ट्रिय महाधिवेशन सुरु गर्दैछ। त्यसअघि बस्न लागेको केन्द्रीय समिति बैठकलाई महाधिवेशनका लागि आवश्यक निर्णय र तयारीलाई अन्तिम रूप दिने अवसरका रूपमा हेरिएको छ।
बैठकमा पार्टीको संगठन विस्तार, भावी कार्यदिशा तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा समेत धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा पार्टी नेतृत्व र केन्द्रीय सदस्यहरू चितवनमा केन्द्रित भएका छन्। महाधिवेशनमार्फत संगठनात्मक संरचना, नीति तथा विधानसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय हुने भएकाले बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।