काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आगामी महाधिवेशनलाई प्रविधिमैत्री बनाउने तयारीस्वरूप विद्युतीय मतदान प्रणाली लागू गर्ने भएको छ। यस प्रणालीमार्फत प्रतिनिधिहरूले उम्मेदवारको नाम र तस्बिर रहेको डिजिटल उपकरणमा स्पर्श गरेर मतदान गर्न सक्नेछन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि एक जना र केन्द्रीय सदस्यका लागि ९९ जना चयन गर्न मतदान हुनेछ। उक्त प्रक्रिया सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने र सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी छ। पहिलो चरणबाट निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री तथा सहमहामन्त्री चयन गर्न दोस्रो चरणको निर्वाचन असार ९ गते गरिनेछ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। विदेशमा रहेका र नेपाल आउन नसक्ने प्रतिनिधिहरूका लागि भने रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदानको व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ।
प्रवासमा रहेका १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले अनलाइन प्रणालीमार्फत आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहनेछन्। उनीहरूले निर्वाचनमा उम्मेदवारी दिन नपाए पनि मतदान गर्न भने पाउने व्यवस्था गरिएको छ।
निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल मतदान प्रणाली अपनाइएको रास्वपाले जनाएको छ।