२०८३, आश्विन १ गते

Sep 17 2026

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते, बोर्डद्वारा तालिका सार्वजनिक

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते, बोर्डद्वारा तालिका सार्वजनिक

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (मौका/पूरक) परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गर्दै परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन हुने जानकारी दिएको हो।

    प्रकाशित तालिकाअनुसार मौका परीक्षा दुई दिनमा सम्पन्न गरिनेछ। एक विषयमा मात्र परीक्षा दिनुपर्ने विद्यार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन अर्थात् साउन २ गते परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।

    बोर्डले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने परीक्षार्थीको परीक्षा पहिलो दिनमै सम्पन्न हुने जनाएको छ। यस्तै, अनिवार्य अंग्रेजीसँगै अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने विद्यार्थीले नेपाली विषयको परीक्षा दोस्रो दिन अर्थात् साउन ३ गते दिनुपर्नेछ।

    दुई विषयको परीक्षा दिनुपर्ने सबै परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा सञ्चालन गरिने बोर्डले स्पष्ट पारेको छ। परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    यसअघि बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो। नतिजामा अपेक्षित ग्रेड हासिल गर्न नसकेका वा मौका परीक्षामा सहभागी हुन योग्य विद्यार्थीहरूका लागि यो परीक्षा आयोजना गर्न लागिएको हो।

    परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले असार १९ गतेभित्र प्रति विद्यार्थी ८ सय रुपैयाँ परीक्षा शुल्क बोर्डको सम्बन्धित कार्यालयको खातामा जम्मा गरिसक्नुपर्नेछ।

    निर्धारित समयमा शुल्क बुझाउन नसकेका विद्यार्थीका लागि असार २६ गतेसम्म विलम्ब शुल्कसहित १ हजार ६ सय रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ। त्यस्ता विद्यार्थीले शुल्क बुझाएको भौचर वा अनलाइन भुक्तानीको प्रमाणसहित असार २८ गते कार्यालय समयभित्र सम्बन्धित विद्यालयमार्फत आवेदन फाराम बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij