काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित परभणी जिल्लाको यशवाडी देवस्थानमा निर्माणाधीन सभा हलको छत भत्किँदा सात जना भक्तजनको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्।
शनिबार दिउँसो भएको उक्त घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त जानकारीअनुसार मन्दिर परिसरमा निर्माण कार्य जारी रहेका बेला भक्तजनहरू प्रसाद ग्रहण गर्न पालो कुर्दै बसेका थिए। सोही क्रममा सभा हलको छत अचानक खस्दा ठूलो क्षति भएको हो।
शनिबारको दिन भएकाले मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य भीड रहेको बताइएको छ। दुर्घटनापछि स्थानीय प्रशासन, प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका थिए।
घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
