चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आज बन्दसत्रमा प्रवेश गर्दैछ। आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन बिहान साढे ८ बजेदेखि प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन हुने कार्यक्रम छ।
बन्दसत्रको सुरुआत पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। सत्रमा पार्टीका विभिन्न प्रतिवेदन प्रस्तुत, छलफल तथा अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ। साथै, नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियासमेत अघि बढाइने भएको छ।
महाधिवेशनमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सहमहामन्त्रीको नेतृत्वमा पार्टी विधानमाथि छलफल गरी आवश्यक निर्णय लिइनेछ। सबै प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
राजनीतिक प्रतिवेदन पारित भएसँगै अन्तरिम व्यवस्थापन समिति गठन गरिने र निर्वाचन सञ्चालनको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिने तयारी गरिएको छ। त्यसपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढाउनेछ।
नयाँ कार्यसमिति चयनसँगै महाधिवेशन मंगलबार सम्पन्न हुने रास्वपाको तयारी छ।
