तस्विर:Ai बाट समावेश
काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ स्थित ठुलीबेँसीको वेतेनी बगरमा आइतबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बालुवा बोकेको बा ४ ख ९८२५ नम्बरको टिपर ब्याक गर्ने क्रममा त्यहीँ रोकिएको बा ४ ख ९९०९ नम्बरको अर्को टिपरबीच च्यापिँदा जेसीबीका सहचालक १९ वर्षीय देबेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो। तामाङ पाँचखाल नगरपालिका–८ होक्सेका स्थायी बासिन्दा हुन् भने हाल पाँचखाल–४ तामाघाटमा बस्दै आएका थिए।
दुर्घटनापछि हिगुवापाटी, दोलालघाट र पाँचखाल प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनामा दुवै टिपरमा सामान्य क्षति पुगेको छ भने सवारी साधनहरू प्रहरी नियन्त्रणमा राखिएको छ। दुर्घटनामा संलग्न टिपरका चालक, ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।