काठमाडौं। काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाउँदा उनीमा संक्रमण विकसित भएको स्वास्थ्य स्रोतले जनाएको छ।
अवस्था गम्भीर बनेपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो। उपचारका क्रममा शनिबार उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार प्रारम्भिक चरणमै भ्याक्सिन नलगाउँदा रोग जटिल बनेको हो। उनले भने, “पहिलो टोकाइपछि भ्याक्सिन नलगाएको देखियो। रेबिज भइसकेपछि मात्र अस्पताल ल्याइएको थियो।”
रेबिज एक घातक तर समयमै खोप लगाएमा रोकथाम गर्न सकिने रोग हो। स्वास्थ्य विज्ञहरूले जनावरको टोकाइपछि ढिलाइ नगरी तुरुन्तै रेबिज विरुद्धको खोप लगाउन आग्रह गर्दै आएका छन्।
