भक्तपुर । भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य भनिएको विवादले दुःखद रूप लिँदा एक युवकको ज्यान गएको छ। गएराति भएको झडपका क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका तथा हाल नगरकोट मोड क्षेत्रमा बसोबास गर्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनापछि उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा आज बिहान निधन भएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार रातिको समयमा भएको आपसी विवादले उग्र रूप लिँदा घटना भएको देखिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा उदयपुर, झापा र गुल्मीका स्थायी बासिन्दा भई हाल भक्तपुर क्षेत्रमा बस्दै आएका तीन युवक रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको कारण, संलग्नता र अन्य पक्षबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको छ। प्रहरीले घटनासम्बन्धी थप तथ्य संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।