काठमाडौं / सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा (एमाले) ले असन्तोष व्यक्त गरेको छ। पार्टीले बजेट निर्माणमा एकपक्षीय ढंग अपनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेटमा आवश्यक सुधार नगरिए सरकारमै बसिरहन नसकिने चेतावनी दिएको हो।
पार्टीका प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्टले जारी गरेको विज्ञप्तिमा बजेट वितरण र विनियोजन प्रक्रियामा सहकार्य र समन्वयको अभाव रहेको उल्लेख गरिएको छ। साथै, संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमति बेवास्ता गरिएको आरोप पनि लगाइएको छ।
बैठकले बजेट संशोधनका लागि आफ्ना जनप्रतिनिधिलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ। एमालेले आफ्ना माग सम्बोधन नभए सरकारबाट अलग हुने सम्भावना समेत खुला राखेको छ।
सत्तारूढ दलभित्रै बजेटलाई लिएर देखिएको असन्तुष्टिले सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक अवस्था थप जटिल बन्न सक्ने संकेत देखिएको छ।
