२०८३, आश्विन १ गते

Sep 17 2026

बाँदरको बढ्दो उपद्रो रोक्न दिक्तेल रुपाकोटको नयाँ योजना, ‘बाली हेरालु’का लागि ४५ लाख बजेट

बाँदरको बढ्दो उपद्रो रोक्न दिक्तेल रुपाकोटको नयाँ योजना, ‘बाली हेरालु’का लागि ४५ लाख बजेट

रोज नेपाल
बुधवार, आषाढ १० २०८३
रोज नेपाल
बुधवार, आषाढ १० २०८३
  • खोटाङ । कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति नियन्त्रण गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नगरपालिकाले ‘बाली हेरालु’ परिचालन गर्ने योजना अघि सार्दै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

    नगरपालिकाको १५औँ नगरसभामा उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा किसानको उत्पादन जोगाउन प्रत्येक वडा तथा टोलमा बाली हेरालु राख्ने व्यवस्था गरिएको उल्लेख छ। नगरपालिकाले बाँदर लगायत वन्यजन्तुका कारण कृषि क्षेत्रमा भइरहेको नोक्सानी न्यूनीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

    नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन दुवै प्रकारका रणनीति तयार पारिएको छ। यसका लागि संघीय सरकार र छिमेकी स्थानीय तहहरूसँग समेत सहकार्य गरिने योजना रहेको उनले बताए।

    कृषि क्षेत्रलाई केन्द्रमा राखेर नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यसअन्तर्गत ‘किसानलाई के चाहिन्छ ?’ नामक कार्यक्रम सञ्चालन गरिनेछ, जसमार्फत किसानको घरदैलोमै प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने लक्ष्य राखिएको छ।

    उता, खोटाङका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले यसअघि नै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने केपिलासगढी गाउँपालिकाले पनि करिब ४७ करोड ५१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    जिल्लाका बाँकी स्थानीय तहहरूले पनि असार १० गतेभित्र आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij