२०८३, कार्तिक १९ गते

Nov 04 2026

असार १५ मा गगन थापाको सन्देश: किसानको सम्मानसँगै कृषि आत्मनिर्भरता र आधुनिकीकरणमा जोड

असार १५ मा गगन थापाको सन्देश: किसानको सम्मानसँगै कृषि आत्मनिर्भरता र आधुनिकीकरणमा जोड

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापा ले किसानको सम्मान, कृषि क्षेत्रको आधुनिकीकरण र खाद्य आत्मनिर्भरतालाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताएका छन्।

    शुभकामना सन्देशमार्फत उनले नेपाल कृषि प्रधान मुलुक भएकाले कृषि केवल उत्पादनको माध्यम नभई देशको संस्कृति, सभ्यता र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरेका छन्। खेतबारीमा मेहनत गर्ने किसानको योगदानको प्रशंसा गर्दै उनले असार १५ लाई किसानको श्रम, समर्पण र आत्मनिर्भरताको प्रतीकका रूपमा चित्रण गरेका छन्।

    थापाले संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै धान उत्पादन बढाउनु संविधानको भावना कार्यान्वयनसँग पनि जोडिएको विषय भएको बताएका छन्। तर किसानले अझै पनि गुणस्तरीय बीउ, मल, सिँचाइ सुविधा र उत्पादनको उचित मूल्य नपाउने समस्याबाट गुज्रिनुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती थपिरहेको उनको भनाइ छ।

    यस वर्षको राष्ट्रिय धान दिवसको नारालाई उल्लेख गर्दै उनले जलवायुमैत्री तथा आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रविधिमैत्री खेती प्रणाली अपनाउन सके उत्पादन वृद्धि भई चामल आयातमा निर्भरता घटाउन सकिने विश्वास उनले व्यक्त गरेका छन्।

    उनले सिँचाइको पहुँच विस्तार, उन्नत बीउ र गुणस्तरीय मलको सहज उपलब्धता, उत्पादनको सुरक्षित भण्डारण तथा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। साथै कृषिलाई सम्मानित, मर्यादित र युवापुस्ताका लागि आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको धारणा छ।

    सन्देशको अन्त्यमा उनले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ बलियो बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धितर्फ सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij