२०८३, आश्विन २ गते

Sep 18 2026

सांसदको गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो नयाँ प्रणाली

सांसदको गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो नयाँ प्रणाली

रोज नेपाल
शुक्रवार, आषाढ १९ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ १९ २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठनात्मक तथा संसदीय कामकारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित विकास गरिएको ‘आरएसपीइआरएस’ डिजिटल प्रणालीबारे आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ।

    रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार आज शुक्रबार बिहान १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना  कार्यक्रममा पार्टी सभापति रवि लामिछानेको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सांसदहरूलाई नयाँ डिजिटल प्रणालीको प्रयोग विधि र साइबर सुरक्षासम्बन्धी आवश्यक जानकारी प्रदान गरिनेछ।

    पार्टीले अबदेखि प्रत्येक संसदीय बैठकपछि सांसदहरूले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। साथै, सांसदसँग भेटघाटका लागि अनलाइनमार्फत समय लिन सकिने, संसदमा उठाइने विषयहरू प्रणालीमै दर्ता गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, छलफल र अन्य गतिविधिको विवरण पनि सोही प्लेटफर्ममा अभिलेखीकरण गरिनेछ।

    यस डिजिटल प्रणालीमार्फत नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदलाई प्रत्यक्ष रूपमा गुनासा, सुझाव वा जिज्ञासा पठाउन सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। प्राप्त गुनासाको अवस्थाबारे ट्र्याकिङ गर्न सकिने र त्यसकै आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने व्यवस्था समेत समावेश गरिएको रास्वपाले जनाएको छ।

    पार्टीका अनुसार यस कदमले सांसदहरूको कामलाई थप पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij