२०८३, आश्विन २ गते

Sep 18 2026

साइबर उत्पीडनबाट असुरक्षित महसुस गरेपछि अष्ट्रेलिया पुगेँ : अभिनेत्री उषा रजक

साइबर उत्पीडनबाट असुरक्षित महसुस गरेपछि अष्ट्रेलिया पुगेँ : अभिनेत्री उषा रजक

रोज नेपाल
शनिवार, आषाढ २० २०८३
रोज नेपाल
शनिवार, आषाढ २० २०८३
  • काठमाडौं । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तर साइबर उत्पीडन, धम्की र मानसिक दबाबका कारण केही समयका लागि अष्ट्रेलिया जान बाध्य भएको बताएकी छन्।

    शनिबार फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार आफूलाई सञ्जोग कार्की नामका व्यक्तिले लामो समयदेखि फोन, सन्देश तथा सामाजिक सञ्जालमार्फत हैरानी दिँदै आएको र त्यसले आफ्नो व्यक्तिगत जीवन तथा मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उनले उल्लेख गरेकी छन्।

    रजकले परिवारको सल्लाह र सुरक्षाको दृष्टिले आफू हाल अष्ट्रेलियामा रहेको जानकारी दिँदै नेपालमा एक्लै बस्न असुरक्षित महसुस गरेपछि विदेश जानुपरेको बताएकी छन्।

    उनले केही दिनअघि नेपाल प्रहरीको साइबर ब्युरोले उजुरी दर्ताका लागि सम्पर्क गरे पनि हैरानी रोकिएको ठानेर तत्काल उजुरी नदिएको उल्लेख गरेकी छन्। तर पुनः फोन र सन्देश आउन थालेपछि कानुनी प्रक्रियामा जाने तयारी गरेको उनको भनाइ छ।

    रजकले सामाजिक सञ्जालमा आफूविरुद्ध गालीगलौज र धम्की आएको उल्लेख गर्दै सम्बन्धित निकायले पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। उनले गृहमन्त्रीसँग समेत घटनाको निष्पक्ष छानबिन गरी आफूलाई न्याय दिलाइदिन आग्रह गरेकी छन्।

    यस्तै, आफूले सञ्जोग कार्कीबारे बोलेपछि अन्य केही महिलाले पनि आफूहरूलाई यस्तै प्रकारको हैरानी भएको भन्दै प्रमाण पठाएको दाबी गर्दै नेपाल फर्किएपछि ती विवरण साइबर ब्युरोमा बुझाउने बताएकी छन्।

    यस घटनाका कारण आफूले पूर्वनिर्धारित अन्तर्राष्ट्रिय कार्यक्रममा वक्ताका रूपमा सहभागिता जनाउन नसकेको र आगामी चलचित्रको छायांकनसमेत स्थगित गर्नुपरेको भन्दै आयोजक तथा निर्माण टोलीसँग क्षमायाचना गरेकी छन्।

    उनले फेसबुकमा लेखेकी छन्–

    संजोक कार्कीले मलाई फेरि राति राति फोन गर्न थालेको छ ।

    केहि दिन अघि मलाई साइबर ब्यूरोले Cyber Bureau फोन गरी भोटाहिटी स्थित साइबर ब्यूरोको अफिसमा आएर मलाई भएको अनलाइन हैरसमेंट केस दर्ता गर्न बोलाउनु भएको थियो । साइबर पुलिसलाई जनता प्रतिको यो सुरक्षाको कवच दिनुभएकोमा धन्यवाद । सुरक्षित महसुस गरेकी थिएँ ।

    म त्यो बेला साइबर बुरियो गईन, किनभने संजोक कार्कीले मलाई लेख्न वा फोन गर्न बन्द गरेको थियो, मैले भनेँ, ठीक छ, म पुलिस रिपोर्ट गर्न जान्न, किनकि मैले उसको हर्कतको पर्दाफास गरेको छु, अब त बन्द गर्छ होला हैरेसमेंट गर्न । तर हिजो राति देखि उसले मलाई फेरि मेसेंजरमा मेसेज पठाउन थालेको छ। म यी मेसेज खोल्न चाहन्न किनभने त्यहाँ केहि हुन सक्छ: अश्लीलता देखि ज्यान मार्ने धम्की हुनसक्छ । कि त सामान्य मेसेज हुनसक्छ, र दुर्भाग्यवस सामन्य मेसेजहरू साइबर अपराधमा गनिदैन । तर उसले फोन गर्नु नै एक मेसेज हो: मलाई धम्क्याएको हो ।

    ब्लक गर्न उपाय हैन, किनभने यस्ता सिक मानसिकता भएकाले अरु बाटो खोज्छ, अर्को अकाउंट खोल्दै हैरेसमेंट गर्न छोड्दैन ।

    यो मान्छेबाट मलाई धेरै दुख भैसक्यो । उसले गर्दा म देश छोडेर भाग्नु परेको छ । सामाजिक संजालमा मलाई आएका गाली, धम्की सब देखेर परिवारमा सल्लाह गरी मलाई केहि समय बिदेशमा बसाउने निर्णय भएकोले म अहिले अस्ट्रेलिया छु । म नेपालमा एक्लै भएकोले मेरो सुरक्षाको हितको निम्ति बिदेशमा हुनुभएको परिवार : मेरी छोरीको बुवा र मेरी दिदी भिनाजुहरूको सल्लाह र कडा निर्देशन अनुसार म विदेशीएकी छु । मलाई भने डर छैन, मलाई थाहा थियो कि रिस्क छ बोल्नुमा, अपराधी भन्दा पीडितले दुख भोग्ने समाज हो हाम्रो : यो कुरा पछील्लो समयमा मैले भोग्नु परेको ट्रोलिंगले साबित गर्छ ।

    यो सबै त्रास किन भने, ती संजोक कार्कीको राजनीतिमा पहुँच भएको देखिन्छ । सामाजिक संजालमा भिड़ीयोहरू अनुसार उनको नजिकको मान्छे वर्तमान सम्मानीय गृहमन्त्री सूदन गुरुंगका पी. ए. जेम्स कार्की हुन् । (शायद अहिले ती सामग्री हटाए होला) । यसरी संगै उठबस गर्ने भएरै यतिको invincible, अनि पावरले मातिएको देखिन्छ ।

    म तथा हामी जनता सम्माननीय गृहमन्त्रीलाई आदर गर्छु, तर यसरी वहाँको निकटको मान्छेले नै जनतालाई उत्पीडन गर्न थालेपछी निरह र निराश महसुस गरेकी छु । गृहमन्त्री सुदन गुरुङलाई मेरो हार्दिक अनुरोध, कृपया यो मान्छेलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस्। उसले ममाथि (passive aggressive) हिंसा मात्र गरिरहेको छैन, तपाईं र हाम्रो नयाँ सरकारलाई पनि बदनाम गरिरहेको छ। सुनेको छु, तपाईं उत्पिडितहरूको रक्षा गर्नुहुन्छ भनेर । त्यस्तै न्याय म र सम्पूर्ण नेपालीले कुरीरहेका छौं । नयाँ नेपालमा आशा छ, केहि न केहि परिवर्तन त पाउँ ।

    म त बिदेश आउन सकें, तर हाम्रो देशमा उत्पीडनमा पर्नु भाएको र अपराधहरू, डर र त्रास झेली रहनु भएका धेरै जना हुनु हुन्छ, जसको भाग्ने ठाउँ हुन्न । दिनहुँ कुनै न कुनै किसिमको डर र त्रासमा घिटघिटाई बाँच्नु परेको हुन्छ । उपाय हुन्न । हत्या सम्म हुन्छ, उदाहरणको लागि “नेपाली ब्रो” भन्ने मान्छेले ती नारीको हत्या गरे । त्यो पनि यो जस्तै सानो कुराबाट शुरू भएको थियो । नारी, बालबालिका र लैंगिक-तथा-यौनिक-अल्पसंख्यक व्यक्तिहरू यसरी उत्पीडनमा परेको देखिन्छ ।

    मैले दुई महिना देखि तयार गरीरहेकी एक समिट, जहाँ म एक वक्ताको रूपमा प्रस्तुत हुनुथियो, त्यो छोडेर लास्ट मिनेट यसरी भाग्नु परेको छ । अर्को हप्ता मेरो फिल्म शुटिंग हुन लागेको थियो, त्यो मैले छोड्नु पर्यो । मेरो कारणले आयोजक समिति तथा निर्माण टोलीमा परेको घाटा प्रति क्षमा माग्दछु । मेरो परिवारलाई म सक्दो सम्झाउने प्रयास गरी छिट्टै नेपाल आउने प्रयास गर्नेछु ।

    मलाई मैले संजोक कार्कीको बारे बोले पछि केहि नारीहरूले उनीहरूलाई पनि त्यही किसिमको हैरेसमेंट गरेको स्क्रीनशटहरू पठाएका छन् । वहाँको घरमा दिदी बहिनी, श्रीमति, आमा कोहि हुनुहुन्छ भने प्लीज वहाँलाई सम्झाईदिनु होला: यसरी वहाँले नारीहरुलाई दिक्क नपार्नुहोला । ती नारीहरूको अनुमति सहित म नेपाल आई ती स्क्रीनशटहरू साइबर प्रहरीलाई बुझाउने छु ।

    अहिलेलाई मलाई न्याय चाहिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij