काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ औसतभन्दा दक्षिणमा र पश्चिमी नेपालतर्फ औसत स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली प्रभावशाली बनेको हो।
हाल देशका अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो विशेषगरी पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।
पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमतीका तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास बसोबास गर्ने, सडक यात्रा गर्ने तथा पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा सुदूरपश्चिमका केही स्थानसहित कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
