सिरहा । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगका सञ्चालकसँग तीन ट्रक काठको व्यवस्थापन तथा आवश्यक सहजीकरण गरिदिने भन्दै यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ मागेका थिए।
घुस मागिएको भन्दै सेवाग्राहीले आयोगमा उजुरी दिएपछि अख्तियारले आवश्यक अनुसन्धान र निगरानी अघि बढाएको थियो। त्यसक्रममा कर्जन्हा नगरपालिका–४ बाट यादवलाई १२ हजार रुपैयाँ बुझिसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
पक्राउपछि घटनास्थलमै मुचुल्का तयार पार्ने, प्रमाण संकलन गर्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइएको छ। आयोगका बर्दिबास कार्यालयका प्रवक्ता प्रकाश पोखरेलका अनुसार प्रारम्भिक प्रक्रिया पूरा भएपछि थप अनुसन्धानका लागि यादवलाई बर्दिबासस्थित कार्यालयमा लगिने तयारी गरिएको छ।
घटनापछि वन प्रशासनसँग सम्बन्धित सेवा प्रवाहमा हुने अनियमितता र घुसखोरी नियन्त्रणको विषय पुनः चर्चामा आएको छ। आयोगले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध कडाइका साथ अनुसन्धान र कारबाहीलाई निरन्तरता दिने जनाएको छ। यस प्रकरणबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जानकारी दिएको छ।