काठमाडौं। नेकपा एमालेले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको छ।
पार्टीका महासचिव शङ्कर पोखरेलले बिहीबार कार्यदलका संयोजक असिम शाहलाई पत्र पठाउँदै एमालेका तर्फबाट सदस्य रहेका डा. भीष्म अधिकारीलाई कार्यदलबाट फिर्ता बोलाइएको जानकारी गराएका हुन्।
डा. अधिकारी प्रारम्भिक बैठकहरूमा सहभागी भए पनि पछिल्ला बैठकहरूमा भने उपस्थित भएका थिएनन्।
एमालेका अनुसार कार्यदलको काम गर्ने प्रक्रिया सुरुदेखि नै स्पष्ट र विश्वसनीय नभएको देखिएको छ। पार्टीले संविधान संशोधनका मुख्य विषयहरू पहिले नै स्पष्ट रूपमा निर्धारण नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको धारणा प्रस्ट नभएको तथा छलफलका लागि अघि सारिएका केही प्रस्तावहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मसँग मेल नखाने प्रकृतिका रहेको जनाएको छ।
यिनै विषयमा सरकारसँग पटक–पटक स्पष्ट धारणा माग गरिए पनि आवश्यक जवाफ नआएको निष्कर्षसहित एमालेले कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ।