काठमाडौं। संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ। बैठकमा वित्तीय अनुशासनदेखि नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा सरकारी निकायका बेरुजु सम्बन्धी विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन उपसमिति गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०ः१५ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा पुस्तकालय नीतिसम्बन्धी विषयमा विज्ञबाट प्रस्तुतीकरण गरिनेछ। साथै समितिले समसामयिक तथा विविध विषयमा पनि छलफल गर्ने कार्यसूची राखेको छ।
संसदीय समितिहरूले सम्बन्धित क्षेत्रका नीतिगत र प्रशासनिक विषयमा नियमित रूपमा छलफल गर्दै आवश्यक सुझाव तथा निर्देशन दिने जिम्मेवारी निर्वाह गर्दै आएका छन्।