काठमाडौं । नेपाल सरकारका पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा गएराति उनको देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ।
उनका भाइ तथा पूर्व प्रहरी अधिकृत (एसपी) विश्वमणि पोखरेलका अनुसार स्वास्थ्य उपचारकै क्रममा उनको निधन भएको हो।
परिवारका सदस्यहरूका अनुसार विदेशमा रहेका उनका छोराछोरी स्वदेश फर्किएपछि अन्त्येष्टिको कार्यक्रम तय गरिनेछ। पोखरेलका एक छोरा र तीन छोरी रहेका छन्, जसमा सन्तानहरू हाल अष्ट्रेलियाबाट काठमाडौं आउने क्रममा छन्।
स्वर्गीय पोखरेलले गृह प्रशासनमा लामो समय योगदान पुर्याउँदै गृहसचिवको जिम्मेवारी सम्हालेका थिए। उनको निधनप्रति प्रशासनिक क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
