काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथासहित भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्न नसकिएपछि पैदलमार्ग हुँदै थप उपचारका लागि पठाइएको छ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार लोप्चन शनिबार सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा गर्भस्थ शिशु उल्टो अवस्थामा रहेको र सालनाल अगाडि निस्किने जोखिम देखिएपछि तत्काल शल्यक्रिया (सि–सेक्सन) आवश्यक रहेको चिकित्सकीय निष्कर्ष निकालिएको थियो।
त्यसपछि साल्धारा स्वास्थ्य चौकीले उनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा रेफर गर्दै हेली एम्बुलेन्स उपलब्ध गराइदिन सम्बन्धित निकायसँग अनुरोध गरेको थियो। स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले हवाई उद्धारका लागि समन्वय गरे पनि लगातारको वर्षा र प्रतिकूल मौसमका कारण हेलिकप्टर उडाउन सम्भव नभएको जनाइएको छ।
अध्यक्ष थिङका अनुसार शनिबार बेलुकासम्म मौसम प्रतिकूल रहेकाले उडान हुन सकेन। आइतबार बिहान पनि काठमाडौं र खानीखोला दुवै क्षेत्रमा मौसम बिग्रिएकाले हवाई उद्धारको प्रयास सफल हुन सकेन।
हवाई उद्धार सम्भव नभएपछि आमा र गर्भस्थ शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै सानीमायालाई पैदलमार्गबाट सुरक्षित स्थानतर्फ लैजाँदै अस्पताल पुर्याउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाले मौसममा सुधार आउनेबित्तिकै आवश्यक परे थप उद्धार तथा उपचार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि जनाएको छ।