काठमाडौं । स्वदेशी जुत्ता तथा चप्पल उद्योगको विकास, बजार व्यवस्थापन र नीतिगत सुधारका विषयमा छलफल गर्न जुत्ता उत्पादक संघका पदाधिकारीहरूले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय गरिएको छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे नेतृत्वको टोली सहभागी हुनेछ। टोलीमा निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणा पनि रहनेछन्।
छलफलका क्रममा स्वदेशी जुत्ता–चप्पल उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने उपाय, उद्योगमैत्री नीति निर्माण, बजारमा देखिएका चुनौतीको समाधान, उत्पादन तथा बिक्री प्रवर्द्धन, साथै आयात प्रतिस्थापनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा विचार–विमर्श हुने कार्यक्रम रहेको छ।
उद्योगीहरूले स्वदेशी उत्पादनको संरक्षण, लगानीमैत्री वातावरण, सरकारी सहयोग तथा उद्योगको दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।
उक्त भेटघाटलाई स्वदेशी जुत्ता उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे सरकार र निजी क्षेत्रबीच समन्वय बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
