काठमाडौं । नेकपा (एमाले) ले संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी र विषयगत रूपमा सशक्त बनाउने उद्देश्यले आज अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय विभागको आयोजनामा केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने जिम्मेवारी, प्रस्तुति र प्रभावकारी सहभागिताबारे मार्गदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा संघीय संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसदीय अभ्यास, सचिवालयको कार्यप्रणाली, सांसदका अधिकार तथा जिम्मेवारीका साथै संसदीय समितिहरूको कार्यक्षेत्र र समितिमार्फत उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिनेछन्।
यस्तै, पार्टी महासचिव शंकर पोखरेलले एमालेको नीति, सिद्धान्त र त्यसअनुसार सांसदहरूले संसद्मा अपनाउनुपर्ने कार्यशैलीबारे धारणा राख्नेछन्। उनले सांसदहरूले विषयगत निर्णय र बहसका क्रममा पार्टीका सम्बन्धित विभागसँग समन्वय तथा परामर्श गरेर अघि बढ्नुपर्ने विषयमा पनि स्पष्ट पार्ने कार्यक्रम रहेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा पार्टीका विभाग प्रमुख तथा पूर्व विभाग सदस्यहरूलाई समेत सहभागी हुन आमन्त्रण गरिएको छ। साथै विभिन्न विषयका विज्ञहरूको सूची तयार गरी आवश्यक पर्दा सांसदहरूलाई नीति, कानुन र संसदीय विषयमा परामर्श उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी पनि गरिएको छ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहने जनाइएको छ।