काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित दुर्घटना टरेको हो।
मंगलबार रामेछापको दोरम्बा गाउँपालिका–१ घर भएका २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए। उनी हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका छन् भने बालाजुस्थित एक बेकरी उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङले स्थानीय पेट्रोल पम्पबाट पेट्रोल खरिद गरी शितलनिवासतर्फ पुगेका थिए। उनले शरीरमा पेट्रोल खन्याउन थालेलगत्तै सुरक्षामा खटिएका प्रहरीले तत्काल नियन्त्रणमा लिएर पेट्रोल बरामद गरेका थिए।
प्रारम्भिक सोधपुछका क्रममा तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न पटक–पटक प्रयास गरे पनि सफल हुन नसकेपछि मानसिक रूपमा निराश भई यस्तो कदम चाल्न पुगेको बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नियन्त्रणमा लिइएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण तथा आवश्यक मनोसामाजिक परामर्श (काउन्सेलिङ) गरिएपछि उनलाई परिवारको जिम्मा लगाएर छाडिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।