काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालका विचार, आदर्श र योगदान आज पनि नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी, सान्दर्भिक र मार्गदर्शक रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा बुधबार जारी श्रद्धाञ्जली सन्देशमा नेपालले २०३५ साल साउन ७ गते पुष्पलालको निधन भए पनि नेपाली जनताको मुक्ति, सामाजिक परिवर्तन र कम्युनिष्ट आन्दोलनमा उहाँले पुर्याएको ऐतिहासिक योगदान सधैँ स्मरणीय रहने उल्लेख गरेका छन्। पुष्पलालले प्रारम्भ गरेको संघर्षको यात्रा निरन्तर अघि बढिरहेको र त्यसले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनको भनाइ छ।
नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक श्रेय पुष्पलाललाई नै जाने उल्लेख गर्दै उहाँले आफ्नो सम्पूर्ण जीवन जनताको मुक्ति र सामाजिक रूपान्तरणका लागि समर्पित गरेको बताएका छन्। निरङ्कुश पञ्चायती व्यवस्थाका कठिन परिस्थितिमा पनि पुष्पलाल आफ्नो राजनीतिक सिद्धान्त र आस्थाप्रति दृढ रहँदै संघर्षलाई निरन्तरता दिएको उनले स्मरण गरेका छन्।
सन्देशमा पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको, वर्गीय संरचना, वर्गीय अन्तर्विरोध तथा राजनीतिक मूल अन्तर्विरोधको पहिचान गरी त्यसको समाधानका लागि मार्क्सवादी दृष्टिकोण प्रस्तुत गरेको उल्लेख गरिएको छ। उनका सैद्धान्तिक लेखन, कार्यक्रम र समग्र राजनीतिक जीवनमा सर्वहारावादी दृष्टिकोण स्पष्ट रूपमा प्रतिबिम्बित भएको नेपालले बताएका छन्।
नेपालका अनुसार पुष्पलालको सबैभन्दा ठूलो ऐतिहासिक योगदान नेपाल कम्युनिष्ट पार्टीको स्थापना मात्र नभई त्यसलाई सुदृढ, संगठित र वैचारिक रूपमा स्पष्ट बनाउनु पनि हो। प्रतिक्रियावादी सत्ताविरुद्ध परिवर्तनकामी शक्ति र राजनीतिक दलहरूलाई एकताबद्ध गर्दै संयुक्त जनआन्दोलनमार्फत परिवर्तन सम्भव हुने सिद्धान्त अघि सार्नु उहाँको दूरदर्शी राजनीतिक सोचको परिचायक रहेको उनले उल्लेख गरेका छन्।
नेपालले वर्तमान रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवादको निर्माण रहेको स्पष्ट गर्दै समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणलाई कार्यनीतिक प्राथमिकताका रूपमा अघि बढाइने बताएका छन्। राष्ट्र र जनताको हित, विशेषतः श्रमजीवी वर्गको समृद्धि तथा आत्मनिर्भर र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणप्रति पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले मार्क्सवाद–लेनिनवादको वैज्ञानिक तथा क्रान्तिकारी दृष्टिकोणका आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपालमा कम्युनिष्ट आन्दोलनको वैचारिक र सांगठनिक आधार निर्माण गर्न पुष्पलालले पुर्याएको योगदान सधैँ सम्मान र स्मरणयोग्य रहने उल्लेख गरेका छन्।
सन्देशको अन्त्यमा नेपालले पुष्पलालका विचार, आदर्श र योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
