२०८३, कार्तिक २० गते

Nov 05 2026

मधेसमा खाद्य गुणस्तरमा कडाइ : ६२ उद्योगी–व्यवसायी कानुनी कारबाहीको घेरामा

मधेसमा खाद्य गुणस्तरमा कडाइ : ६२ उद्योगी–व्यवसायी कानुनी कारबाहीको घेरामा

रोज नेपाल
शनिवार, श्रावण ९ २०८३
रोज नेपाल
शनिवार, श्रावण ९ २०८३
  • जनकपुर। मधेस प्रदेशमा गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा ६२ उद्योगी–व्यवसायीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरिएका खाद्य नमुनाको परीक्षणका क्रममा विभिन्न कैफियत फेला परेपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो।

    कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। साथै सप्तरीका तीन, सिरहाका दुई र धनुषाका दुई उद्योगी–व्यवसायीविरुद्ध पनि मिसावट तथा खाद्य स्वच्छता उल्लङ्घनको आरोपमा थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

    अनुगमनका क्रममा सङ्कलित नमुनामा स्वास्थ्यका लागि हानिकारक मिसावट, म्याद नाघेका खाद्य सामग्रीको बिक्री तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पुष्टि भएपछि कारबाही गरिएको कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार गत आर्थिक वर्षभर मधेस प्रदेशका विभिन्न जिल्लाबाट कुल ४ हजार ५५९ खाद्य नमुना परीक्षणका लागि सङ्कलन गरिएको थियो। तीमध्ये ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

    यस अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण गरिएको थियो भने ३१० वटा स्वच्छता सर्भिलेन्स पनि सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

    खाद्य स्वच्छता प्रवर्द्धनका लागि धनुषामा ६० पटक अनुगमन गरी २५० होटल तथा रेष्टुरेन्टको निरीक्षण गरिएको छ। साथै १२१ उद्योगलाई नयाँ अनुज्ञापत्र प्रदान, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको जानकारी कार्यालयले दिएको छ।

    नमुना परीक्षण, अनुज्ञापत्र, नवीकरण तथा अन्य सेवामार्फत रु ३८ लाख ३६ हजार १७० राजस्व सङ्कलन भएको छ।

    गत असार महिनामा धनुषाका ४४ होटल तथा रेष्टुरेन्टको निरीक्षण गर्दा १२ वटा प्रतिष्ठानमा कमजोरी भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रु ४ लाख २० हजार जरिवाना गरिएको थियो। त्यस्तै सर्लाहीका २४ होटलमध्ये १७ वटामा कैफियत भेटिएपछि रु ६ लाख ६७ हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ।

    अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका, सडेगलेका तथा उपभोगका लागि अनुपयुक्त खाद्य सामग्री जफत गरी सम्बन्धित पक्षको उपस्थितिमा नष्ट गरिएको पनि कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij