काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भएपछि सरकारले खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दर्ता गरिसक्नुपर्नेछ।
सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सोसँग सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव तथा त्यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्नेछ।
उम्मेदवारको उमेर न्यूनतम ३० वर्ष पूरा भएको र अधिकतम ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार वा नैतिक पतन देखिने कुनै फौजदारी अपराधमा सजाय नपाएको तथा कानुनी रूपमा अयोग्य घोषित नभएको व्यक्ति मात्र आवेदनका लागि योग्य हुनेछन्।
आवेदनसँग शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, स्वघोषणा, दुई प्रति पासपोर्ट आकारका फोटो, तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना तथा ५ हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
सीईओ पदमा नियुक्त हुने व्यक्तिको सेवा–सुविधा नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ।