२०८३, भाद्र ३१ गते

Sep 16 2026

गुरुपूर्णिमामा गुरु–शिष्य परम्पराको सम्मान: कराते क्लब बालाजुद्वारा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुरुपूर्णिमामा गुरु–शिष्य परम्पराको सम्मान: कराते क्लब बालाजुद्वारा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्व गुरुपूर्णिमाको अवसरमा कराते क्लब बालाजु, काठमाडौँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य तथा आत्मीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा करातेका प्रशिक्षक, खेलाडी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले गुरुले केवल सीप मात्र नभई संस्कार, अनुशासन र जिम्मेवारीको भावना पनि हस्तान्तरण गर्ने उल्लेख गर्दै समाज निर्माणमा गुरुहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो।

    कार्यक्रममा नेपाल कराते महासंघका प्रतिनिधि राजेन्द्र क्षेत्री विशेष अतिथिका रूपमा सहभागी हुनुभयो। उहाँले गुरु–शिष्य सम्बन्ध करातेको मूल आधार भएको उल्लेख गर्दै निरन्तर अभ्यास, अनुशासन र सम्मानको संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    WhatsApp Image 2026-07-29 at 7.10.58 PM.jpeg
    undefined

    कार्यक्रमको सभापतित्व कराते क्लब बालाजु, काठमाडौँका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो। उहाँले गुरुहरूको अथक समर्पण र मार्गदर्शनकै कारण नेपाली करातेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवपूर्ण सफलता हासिल गरिरहेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कराज पाण्डे, जापान गोजुरियो कराते संघका केन्द्रीय अध्यक्ष विदुर कुँवर, वरिष्ठ प्रशिक्षक होम गुरुङ तथा टिम कोच कृष्णबहादुर विकको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउँदै खेलकुदमार्फत अनुशासित, सक्षम र नैतिक युवा पुस्ता निर्माण गर्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा सहभागी खेलाडीहरूले आफ्ना गुरुहरूप्रति सम्मान व्यक्त गर्दै आशीर्वाद ग्रहण गरेका थिए। केक काटेर शुभकामना आदान प्रदान गर्दै कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । शुभकामना आदानप्रदानसँगै गुरुहरूको योगदानको उच्च कदर गरिएको उक्त कार्यक्रमले उपस्थित सबैमा सकारात्मक ऊर्जा, प्रेरणा र आपसी सद्भावको सन्देश प्रवाह गरेको थियो।

    कराते क्लब बालाजुले आगामी दिनमा पनि खेलकुदसँगै नैतिक शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    WhatsApp Image 2026-07-29 at 7.11.05 PM.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij