काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन सुधारका कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कुनै पनि प्रकारका आक्रमणप्रति ‘शून्य सहनशीलता’ अपनाइने नीति पुनः स्पष्ट गर्दै मन्त्रालयले कानुनी र प्रशासनिक दुवै पक्षमा सुधारको प्रक्रिया अघि बढाएको हो।
नारायणी अस्पतालमा हालै भएको घटनापछि मन्त्रालयले दोषीमाथिको कारबाही मात्र नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक संरचनागत सुधारमा ध्यान केन्द्रित गरेको जनाएको छ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विद्यमान ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाइएको र सरोकारवालाको सुझाव समेटेर कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने मन्त्रालयको भनाइ छ।
यससँगै मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक संरचनालाई एउटै स्थानमा एकीकृत गर्ने कार्य पनि अघि बढाएको छ। रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट नष्ट भएपछि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको प्रशासनिक कार्यलाई क्रमशः एउटै भवनमा सार्ने तयारी गरिएको हो।
हाल मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलाबाट प्रशासनिक गतिविधि सञ्चालन गरिरहेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाको कार्यकक्ष पनि सोही भवनमा सारिएको छ भने सचिवालयअन्तर्गतका शाखा तथा महाशाखालाई समेत चरणबद्ध रूपमा त्यहीँ स्थानान्तरण गरिने योजना रहेको छ।
मन्त्रालयका अनुसार सबै प्रशासनिक एकाइ एउटै भवनमा सञ्चालन भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया तथा नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
