काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ६ बुँदे सहमति भएको छ।
सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले आर्थिक राहत उपलब्ध गराइने सहमति भएको छ।
सहमतिपत्रमा घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ।
छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई कानुनी प्रक्रियाअनुसार यथाशीघ्र कार्यान्वयन गर्ने विषय पनि सम्झौतामा समेटिएको छ। साथै, स्थानीय सरकारसँग समन्वय गरी दुवै मृतकको स्मृतिमा गाउँपालिकाभित्र उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सम्झौतापत्रमा मृतकका परिवारका अभिभावकको तर्फबाट हस्ताक्षर गरिएको छ भने गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ।