झापा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक गीत अनिवार्य रूपमा सिकेर गाउनुपर्ने बताएका छन्। उनले पार्टीको विचार, उद्देश्य र अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन गीतलाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिने स्पष्ट पारे।
झापाको दमकमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै साम्पाङले पार्टीको गीत गाउन नसक्ने व्यक्तिलाई जिम्मेवारी वा पदका आधारमा कुनै विशेष सुविधा नदिइने बताए। आवश्यक परे केन्द्रीय तहका नेताहरूको समेत परीक्षण गरिने र गीत गाउन नसक्नेहरूलाई संगठनबाट हटाउन सकिने चेतावनी उनले दिए।
उनका अनुसार पार्टीको अभियानलाई सशक्त बनाउन प्रत्येक सदस्यले आधिकारिक गीत कण्ठ गर्नुपर्नेछ। उनले गीतले कार्यकर्तामा श्रमप्रतिको सम्मान, आत्मनिर्भर सोच र सामूहिक जिम्मेवारीको भावना विकास गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा साम्पाङले पार्टीको आधिकारिक गीत स्वयं प्रस्तुत गर्दै उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई पनि सामूहिक रूपमा गाउन आग्रह गरेका थिए। उनले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्न गीतलाई जनचेतनामूलक अभियानको महत्वपूर्ण माध्यम बनाइने बताए।
पार्टीले श्रम, एकता र आत्मनिर्भर समाज निर्माणको सन्देशलाई अझ प्रभावकारी रूपमा फैलाउन सांगीतिक अभियानलाई प्राथमिकतामा राख्ने जनाएको छ।