काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ ले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी ले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनेछिन्।
बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्त ले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले गरेको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ।
यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी ले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा सरकारका तयारी, विपद् व्यवस्थापन र कृषि क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।