२०८३, भाद्र ३१ गते

Sep 16 2026

आलोचनापछि इन्फान्टिनोको आत्मस्वीकारोक्ति, फिफा नेतृत्वमा भने कायम

आलोचनापछि इन्फान्टिनोको आत्मस्वीकारोक्ति, फिफा नेतृत्वमा भने कायम

रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई हस्तान्तरण गर्ने विषयमा आफूबाट प्रक्रियागत कमजोरी भएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमा मागेका छन्। यद्यपि, फिफाको उच्च नेतृत्व तहबाट उनको नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गरिएपछि उनी अध्यक्ष पदमै निरन्तर रहने भएका छन्।

    मोरक्कोको राजधानी रबातस्थित फिफाको अफ्रिकी क्षेत्रीय कार्यालयमा बुधबार आयोजित व्यवस्थापन बोर्डको बैठकमा इन्फान्टिनोले विवादित प्रस्तावबारे आफ्नो धारणा स्पष्ट पारेका थिए। बैठक सम्पन्न भएको केही घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै अध्यक्षप्रति व्यवस्थापन बोर्डको पूर्ण समर्थन रहेको जनाएको हो।

    विवादको केन्द्रमा रहेको ‘फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई)’ सम्बन्धी योजनाले पछिल्ला दिनमा व्यापक आलोचना खेपेको थियो। विशेषगरी युरोपेली फुटबल महासंघ (युइएफए) ले उक्त प्रस्तावलाई पारदर्शिता र सुशासनको मापदण्डअनुसार अघि नबढाइएको भन्दै इन्फान्टिनोमाथि विश्वास गुमाएको प्रतिक्रिया दिएको थियो।

    फिफाभित्रै पनि प्रस्तावको प्रक्रियाबारे असन्तुष्टि बढ्दै गएको थियो। महासचिव म्याथियास ग्राफस्ट्रोमसहितका केही वरिष्ठ अधिकारीले यस विषयमा गम्भीर चासो व्यक्त गरेका थिए। तर, रबात बैठकपछि ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इन्फान्टिनोको नेतृत्वप्रति पूर्ण समर्थन दोहोर्‍याइएको छ।

    बीबीसीका अनुसार इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रका फुटबल संघलाई संयुक्त पत्र पठाउँदै प्रक्रियागत त्रुटिप्रति हृदयदेखि नै क्षमा मागेका छन्। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता पनि जनाइएको उल्लेख गरिएको छ। बैठकपछि दुवैले रबातमै जारी महिला अफ्रिका कप अफ नेसन्सको खेल संयुक्त रूपमा अवलोकन गरेको तस्बिर पनि सार्वजनिक भएको थियो।

    विवादित योजनाअन्तर्गत नवगठित सहायक कम्पनी ‘एफएफई’ मार्फत पुरुष तथा महिला विश्वकपजस्ता प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो। त्यसको समर्थन गर्ने सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो। प्रस्तावअनुसार निजी कम्पनीलाई फिफाको २० प्रतिशत स्वामित्व दिने तयारी गरिएको र उक्त हिस्सासँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइको नाम जोडिएपछि विवाद झन् चर्किएको थियो।

    फिफाले भने बैठकपछि जारी वक्तव्यमा प्रक्रियागत कमजोरी स्वीकार गर्दै काउन्सिल र सदस्य संघहरूलाई पर्याप्त रूपमा समेट्न नसकिएको महसुस हुन पुगेको स्वीकार गरेको छ। संस्थाले यस्तो प्रक्रिया अझ समावेशी र पारदर्शी ढंगले अघि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको जनाएको छ।

    सञ्चारमाध्यममा प्रस्ताव सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि त्रुटि भएको फिफाले स्वीकार गरेको छ। द टाइम्सले गत जुलाई २८ मा इन्फान्टिनोको योजनासम्बन्धी समाचार सार्वजनिक गरेपछि यो विषय विश्व फुटबलमा बहसको केन्द्र बनेको थियो।

    यद्यपि, फिफाले आफ्नो विज्ञप्तिमार्फत संस्थाको सुशासन, निष्ठा र कानुनी प्रक्रियामाथि हुने अनावश्यक आरोप वा आक्रमण सहन नसकिने स्पष्ट पारेको छ। साथै, संस्थाको प्रतिष्ठा र विश्वसनीयताको संरक्षणका लागि आवश्यक सबै कदम चालिने पनि जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij