काठमाडौं । सरकारले विदेशमा रहेका पाँच वटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले भने ती नियोगबाट उपलब्ध हुँदै आएका कन्सुलर तथा अन्य सेवामा कुनै अवरोध नआउने गरी वैकल्पिक व्यवस्था मिलाएपछि मात्र कार्यालयहरू औपचारिक रूपमा बन्द गरिने जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास तथा अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।
उनका अनुसार ती देश तथा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक, सेवा लिन आउने अन्य सेवाग्राही र समवर्ती मान्यता प्राप्त मुलुकका नागरिकलाई असर नपर्ने गरी कन्सुलर सेवाको वैकल्पिक संयन्त्र तयार पार्ने काम भइरहेको छ। सेवा प्रवाहको सुनिश्चितता भएपछि मात्र नियोग बन्द गर्ने प्रक्रिया पूरा गरिने उनले बताए।
प्रवक्ता क्षेत्रीले कूटनीतिक नियोगको संख्या घटाउने निर्णय सरकारको वर्तमान आर्थिक अवस्था र प्रशासनिक व्यवस्थापनसँग जोडिएको विषय भएको उल्लेख गरे। उनले यो कदम स्थायी नभई तत्कालीन आवश्यकता अनुसार गरिएको व्यवस्थापन भएको स्पष्ट पारे।
उनले भविष्यमा मुलुकको आर्थिक अवस्था सुदृढ बन्दै गएपछि आवश्यकता, प्राथमिकता र सम्भावनाका आधारमा विदेशस्थित नेपाली कूटनीतिक उपस्थिति पुनः विस्तार गर्न सकिने पनि बताए।
सरकारले खर्च व्यवस्थापन र कार्यक्षमता अभिवृद्धिलाई ध्यानमा राख्दै नियोगहरूको संख्या सीमित गर्ने नीति अवलम्बन गरेको भए पनि विदेशमा रहेका नेपाली नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर र पहुँचमा कुनै कमी आउन नदिने प्रतिबद्धता परराष्ट्र मन्त्रालयले जनाएको छ।
