२०८३, कार्तिक २० गते

Nov 05 2026

‘चार महिनामै सरकारको मूल्यांकन गर्ने बेला भएको छैन, केही संकेत भने देखिनुपर्थ्यो’ : रवि लामिछाने

‘चार महिनामै सरकारको मूल्यांकन गर्ने बेला भएको छैन, केही संकेत भने देखिनुपर्थ्यो’ : रवि लामिछाने

रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार गठन भएको छोटो समयमै समग्र मूल्यांकन गर्ने अवस्था नरहे पनि नागरिकले परिवर्तनको प्रारम्भिक अनुभूति गर्न पाउनुपर्ने बताएका छन्।

    नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारणसभामा बोल्दै लामिछानेले सरकारको चार महिनाको कार्यकालबारे आएका नागरिकका सुझाव र गुनासालाई पार्टीले गम्भीरतापूर्वक लिइरहेको बताए। उनले जनअपेक्षाअनुसार अपेक्षित परिवर्तनको स्पष्ट संकेत देखाउन नसकेको विषयमा आएका प्रतिक्रियालाई आफूहरूले मनन गरिरहेको उल्लेख गरे।

    लामिछानेले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई हवाई यात्रासँग तुलना गरे। यात्राका क्रममा मौसमका कारण कहिलेकाहीँ असहजता आउन सक्ने भए पनि मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मेवारी आफूहरूको रहेको उनको दाबी थियो।

    रास्वपामा परिवर्तनको चाहना बोकेका युवादेखि विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू समेत आबद्ध रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने राजनीतिक नेतृत्व पार्टीसँग रहेको बताए।

    उनले सरकारलाई केवल आफ्नो पार्टीको मात्र नभई आम नागरिकको सरकारका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। प्राप्त जनमत र वर्तमान अवसरलाई देश निर्माणमा उपयोग गर्न नागरिकसँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    लामिछानेले राजनीतिक पृष्ठभूमिबाहिर रहेका दक्ष तथा व्यावसायिक व्यक्तिहरू पनि परिवर्तनको अभियानमा जोडिनु सकारात्मक पक्ष भएको बताए। देशमा देखिएको यस्तो सामूहिक जागरणलाई उपलब्धिका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

    नागरिकलाई वर्तमान अवस्थाबाट निराश नहुन आग्रह गर्दै उनले सरकार र पार्टीको कामलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। मुलुकलाई सुरक्षित र समृद्ध गन्तव्यतर्फ लैजान नागरिकको साथ र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij