काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै रहेको छ।
साउन १९ गते उपचारकै क्रममा मेहताको मृत्यु भएको हो। देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको तनाव तथा झडपका क्रममा घाइते भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।
मृतकका परिवार र सरकारबीच आवश्यक सहमति जुट्न नसक्दा हालसम्म शव परीक्षणसमेत हुन सकेको छैन। परिवारले शवको पोस्टमार्टम गर्नुअघि नै रविन्द्रलाई सहिद घोषणा गर्नुपर्ने माग अघि सारेका छन्।
तर सहिद घोषणा गर्न कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल निर्णय लिन कठिनाइ भएको गृह मन्त्रालयको भनाइ छ। गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका अनुसार यही विषयमा सहमति जुटाउन परिवारसँग पटक–पटक छलफल भइरहेको छ।
रविन्द्रको मृत्यु भएपछि गृहमन्त्री गुरुङ साउन १९ गते शिक्षण अस्पताल पुगेर परिवारसँग भेट गरेका थिए। त्यसपछि पनि मृतकका आफन्तलाई गृह मन्त्रालयमा बोलाएर थप छलफल गरिएको थियो।
लगातारको संवादका बाबजुद परिवारले सहिद घोषणा गर्नुपर्ने तथा घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने मागबाट पछि नहटेपछि समस्या समाधान हुन नसकेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताए।
यस घटनामा मृत्यु हुने अन्य व्यक्तिमा कप्तानगञ्जकै ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिराहाको औरही गाउँपालिकाका गणेश यादव रहेको जनाइएको छ।