काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीलाई आफूलाई एक्लो ठान्ने अवस्था नरहेको भन्दै ‘कालो चस्मा’ हटाएर विपक्षीको भूमिकालाई बुझ्न आग्रह गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद काउचाले सरकारको सही कदममा प्रतिपक्षले सहयोग गर्ने स्पष्ट पारिन्। तर संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय प्रक्रिया र संसद्को सर्वोच्चतालाई कमजोर पार्ने गतिविधिमा भने कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले मुलुकको राजनीतिक परिस्थितिमा आफू एक्लै संघर्ष गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नसमेत उठाइन्। उनले प्रतिपक्षले सरकारलाई प्रश्न गर्नु वा जवाफ माग्नु असहयोग र घेराबन्दी नभएको बताइन्।
काउचाले संसद्मा उठाइएका प्रश्नको जवाफ दिनुको सट्टा बेवास्ता गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन्। उनका अनुसार सत्तापक्षका सांसदहरूले समेत सरकारलाई खबरदारी गर्न खोजिरहेको अवस्थामा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू एक्लो महसुस भएको धारणा सार्वजनिक गर्नुपर्ने परिस्थिति कसरी आयो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ।
उनले संसद्मा प्रश्न उठाउने प्रतिपक्षको अधिकारलाई सरकारविरोधी कदमका रूपमा लिन नहुने बताइन्। सरकारलाई सचेत गराउनु र जवाफदेही बनाउन खोज्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको उनको भनाइ छ।
काउचाले गल्ती स्वीकार गर्नु कमजोरी नभएको भन्दै नेतृत्वको वास्तविक क्षमता आफ्ना त्रुटि सच्याउन सक्नुमा देखिने बताइन्। मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्ष साथमै रहने उनको प्रतिबद्धता थियो ।
