काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले ग्यास लिन नागरिकहरू रातिसम्म सिलिन्डर बोकेर लामो लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन्।
उनले एकातिर देशमै उत्पादन भएको विद्युत् पर्याप्त मात्रामा उपयोग हुन नसकी खेर जाने अवस्था रहेको र अर्कोतर्फ खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने परिस्थिति देखिनु दुःखद भएको उल्लेख गरिन्।
ग्यासको अभावबाट सिर्जित समस्या कम गर्न सरकारले तत्काल इन्डक्सन चुलो वितरणको कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ। विद्युत्को प्रयोग बढाएर खाना पकाउने वैकल्पिक व्यवस्था गर्न सके ग्यासमाथिको निर्भरता घटाउन सकिने उनको भनाइ थियो।
सांसद अधिकारीले विद्युत् खपतसँग सम्बन्धित विद्यमान नीतिहरूले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुको सट्टा विद्युतीय चुलो तथा अन्य विकल्प प्रयोगमा बाधा पुगेको हुन सक्ने भन्दै त्यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने बताइन्।
नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको भान्साको समस्या समाधानलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उनले ‘स्वदेशी भान्सा’ सहज बनाउने प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार नागरिकलाई सहज र भरपर्दो खाना पकाउने सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएकाले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ।
