धनगढी । सुदूरपश्चिममा धानखेतीको मुख्य समय चलिरहँदा रासायनिक मलको माग बढेको छ । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउन १ देखि २६ गतेसम्म युरिया, डिएपी र पोटास बिक्री गरे पनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन ।
कम्पनीका अनुसार उक्त अवधिमा १ हजार २८७ दशमलव ७ मेट्रिक टन युरिया, २९५ दशमलव ७ मेट्रिक टन डिएपी र ३३ दशमलव २५ मेट्रिक टन पोटास बिक्री भएको छ । धानमा मल हाल्ने समय भएकाले किसानको माग बढेपछि सहकारी तथा बिक्री केन्द्रमार्फत मल वितरण भइरहेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख नवलसिंह बोगटीले जानकारी दिए ।
धनगढीका लागि युरियाको आवश्यक कोटा १ हजार ९४७ दशमलव ७०५ र डिएपीको १ हजार ९१५ दशमलव ८१५ मेट्रिक टन निर्धारण गरिएको छ । तर, बिक्री र मौज्दातलाई समेत जोड्दा युरिया १ हजार ३९७ दशमलव ९५५ तथा डिएपी ३२६ दशमलव ७ मेट्रिक टन मात्रै पुगेको छ ।
हाल कम्पनीको गोदाममा ११० दशमलव २५ मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डिएपी र ९३ दशमलव ६५ मेट्रिक टन पोटास मौज्दात छ । आवश्यक कोटाको तुलनामा बिक्री तथा मौज्दात जोड्दा युरियाको उपलब्धता करिब ७२ प्रतिशत पुगे पनि डिएपीको हिस्सा १७ प्रतिशत हाराहारीमा मात्र छ ।
कम्पनीको विवरणअनुसार युरियामा अझै ५४९ दशमलव ७५५ र डिएपीमा १ हजार ५८९ दशमलव ११५ मेट्रिक टनको अन्तर छ । विशेषगरी डिएपीको आपूर्ति कमजोर हुँदा धानखेतीका लागि मल खोजिरहेका किसानलाई समस्या परेको छ ।
धानमा मलको आवश्यकता उच्च रहेको समयमा आपूर्ति र मागबीचको ठूलो अन्तरले आगामी दिनमा पनि मल व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने देखिएको छ । किसानको माग सम्बोधन गर्न डिएपीसहित अन्य आवश्यक मलको आपूर्ति बढाउनुपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।