२०८३, आश्विन १ गते

Sep 17 2026

इरानी धम्कीपछि ट्रम्पको विमान यात्रा नै बदलियो

इरानी धम्कीपछि ट्रम्पको विमान यात्रा नै बदलियो

रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट फर्किने क्रममा आफ्नो यात्रा विमान गोप्य रूपमा परिवर्तन गरिएको पुष्टि गरेका छन् ।

    गत महिना टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनबाट अमेरिका फर्किने क्रममा सुरक्षा निकायको सल्लाहअनुसार आफूले नियमित रूपमा प्रयोग गर्ने एयर फोर्स वन छाडेर अर्को विमानमा यात्रा गरेको ट्रम्पले बताएका हुन् । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो सुरक्षाको विषयमा ‘सिक्रेट सर्भिस’ र सेनाले दिएको सुझाव आफूले पालना गर्ने बताए ।

    ट्रम्पका अनुसार सुरक्षा अधिकारीहरूले विमान परिवर्तन गर्न भनेपछि उनले त्यसैअनुसार यात्रा गरेका थिए । आफूलाई नियमित रूपमा धम्की आउने गरेको उल्लेख गर्दै उनले त्यसबेला पनि सुरक्षा जोखिम रहेको हुन सक्ने बताएका छन् ।

    घटना जुलाई ८ को हो । सार्वजनिक विवरणअनुसार ट्रम्पलाई पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीले थाहा नपाउने गरी एउटा सानो विमानमा सारिएको थियो । त्यसअघि उनी पुरानो एयर फोर्स वनमा चढेको दृश्य सञ्चारमाध्यमका क्यामेरामा कैद भएको थियो ।

    रिपोर्टअनुसार केही समयपछि ट्रम्पलाई एयरपोर्टमा प्रयोग हुने क्याटरिङ गाडीमार्फत अर्को विमानसम्म पुर्‍याइएको थियो । सामान्यतया विमानमा खाना तथा आवश्यक सामग्री ओसार्न प्रयोग हुने उक्त गाडीलाई ट्रम्पको गोप्य स्थानान्तरणका लागि प्रयोग गरिएको थियो । उनीसँगै केही सहयोगी पनि अर्को विमानमा सरेका थिए ।

    यसबीच एयर फोर्स वनमै रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीहरू भने राष्ट्रपति अझै त्यही विमानमा रहेको ठानिरहेका थिए । ट्रम्प अर्को विमानमा सरिसकेको जानकारी उनीहरूलाई तत्काल दिइएको थिएन ।

    ट्रम्पले आफूलाई सारिएको विमान नै तुलनात्मक रूपमा बढी जोखिममा रहेको हुन सक्ने बताएका छन् । उनका अनुसार आक्रमणकारीले राष्ट्रपतिको विमान भनेर पहिचान गर्न सक्ने सम्भावनाका कारण एयर फोर्स वन बढी जोखिममा परेको हुन सक्थ्यो ।

    घटनाले भने राष्ट्रपति सुरक्षासँगै एउटै विमानमा रहेका पत्रकार तथा ह्वाइट हाउसका कर्मचारीको सुरक्षाबारे पनि प्रश्न उठाएको छ । राष्ट्रपतिलाई लक्षित गरेर खतरा रहेको अवस्थामा उनीहरूलाई जानकारी नदिई त्यही विमानमा राखिनु उचित थियो कि थिएन भन्ने बहससमेत सुरु भएको छ ।

    यदि राष्ट्रपतिलाई लक्षित गरी विमानमै आक्रमण भएको भए त्यसमा रहेका पत्रकार र अन्य कर्मचारीसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै सुरक्षा प्रबन्धबारे प्रश्न उठ्न थालेका छन् । ट्रम्पलाई गोप्य रूपमा विमान परिवर्तन गराइएको विषय सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपतिको हवाई सुरक्षाको अभ्यासमाथि पनि नयाँ चासो देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij